पत्नीका गहना बेचेर सडक निर्माण
मिति : २०७१ वैशाख १६, मंगलबार,
इटहरी:
'आफ्नो गाउँ आफैं बनाऔं' नाराका साथ मोरङको दुलारी गाविस १ स्थित बलियाचोकवासी गाउँ विकासमा जुटेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको बूढीखोला सिमानामा पर्ने बलियाचोकदेखि गोकुलम चरिगुवासम्मको सडक कालोपत्रे गर्न स्थानीय आफैं जुटेका हुन्।
पटकपटक सडक कालोपत्रे गर्न स्थानीयवासी सडक विभाग र मोरङ जिविस धाउँदा पनि सहयोग नपाएपछि पत्नीका गहना बेचेर स्थानीय सडक कालोपत्रे अभियानमा जुटेका छन्। स्थानीय समाजसेवी जितेन्द्र बस्नेतले गरगहना नहुनेहरूले साहूसँग ऋण काढेर सडक कालोपत्रे गर्न रकम संकलन गरेको बताए।
स्थानीय बासिन्दाले आइतबारदेखि दुलारीको बलियाचोक हुँदै पर्यटकीय स्थल गोकुलम र चरिगुवासम्मको तीन किलोमिटर मोटरबाटो कालोपत्रे गर्न सुरु गरेका छन्।तीन किलोमिटर सडक कालोपत्रे गर्न दुलारीका दुई सय ५० घरबाट सडक मा भएको प्रतिफुट जग्गाको एक हजारका दरले एक करोड ५० लाख रुपैयाँ संकलन गरी कालोपत्रे गर्न सुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश वस्तीले बताए।

0 comments
तपाईंको प्रतिकृया