तपाइको मोबाइलमा फेसबुक फोन कि फेसबुक होम ?

Facebookवैशाख २२ -
 फेसबुकले 'फेसबुक होम' नामक एप्स सार्वजनिक गरेको छ। फेसबुक होम फेसबुकले तयार गरेको एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि नयाँ एप्स हो। यसलाई एन्ड्रोइड फोनमा राखेपछि उक्त स्मार्टफोनले फेसबुकका रूपमा काम गर्छ। फेसबुक होमले फोनमा सबैभन्दा बढी सामाजिक सन्जाल एवं साथीहरूका गतिविधिमा नै जोड दिएको छ। फेसबुकले आफु अनुकुलको एन्ड्रोइड बन्ने गरी तयार गरेको यो एप्सले फोनमा पनि फेसबुकमा जस्तै न्युज फिड, कभर तस्बिर आदिका साथै नयाँ-नयाँ कन्टेन्टको अनुभव दिलाउनेछ। यसमा समयअनुसार कभर तस्बिर अर्थात् होम स्त्रिmनमा देखिने तस्बिरहरू पनि परिवर्तन हुनेछन्। कभर फिडका रूपमा देखिने ती तस्बिरका साथ फेसबुकमा रहेका साथीहरूले अपडेट गरेका स्ट्याटस र आफ्नो टाइमलाइनमा गरेका पोस्टहरू पनि तत्काल फोनमा देखिनेछन्। यसमा फेसबुकमा जोडिएका साथीहरूको प्रोफाइलसहित तस्बिर देखिनेछ।
               सम्पूर्ण रूपमा फेसबुकको अनुभव गर्न सकिने भएकाले यसलाई फेसबुक फोन भनिएको हो। यसमा अन्य एप्स चलाउँदा पनि फेसबुकमा अनलाइन रहेकाहरूसँग पनि च्याट गर्न सकिन्छ। मोबाइलमा गति सुनिरहेको, भिडियो हेरिरहेको वा इमेल, इन्टरनेट चलाइरहेको समयमा पनि फेसबुकमा पठाइएका म्यासेजहरू पठाउनासाथ देखिन्छन्।अहिले एचटिसी वान, एचटिसी वान एक्स, सामसुङ ग्यालेक्सी एस फोर, ग्यालेक्सी एस थ्री, ग्यालेक्सी नोट टु तथा एचटिसी फस्टमा मात्र फेसबुक होम चलाउन सकिने सुविधा उपलब्ध छ। लामो समयदेखि फेसबुकले आफ्नै ब्रान्डको फोन बजारमा ल्याउने हल्ला थियो, तर केही समयपछि नै उक्त योजना रद्द भएको घोषणा गरिएको थियो।
                        गत वर्ष अल थिंग्स डी नामक वेबसाइटको एक रिपोर्टमा फेसबुकले एचटिसी मोबाइल कम्पनीसग मिलेर यस प्रकारको फोनलाई अर्को वर्ष बजारमा ल्याउँदैछ भनिएको थियो। उक्त भविष्यवाणी आखिर सत्य सावित त भयो, तर फेसबुक फोनको बनावट भने निकै फरक रूपमा आयो। सबैले फेसबुकले आकर्षक स्मार्टफोन बजारमा ल्याउँछ र हार्डवेयर बजारमा प्रबेश गर्छ भन्ने अनुमान गरेका थिए, तर अन्य कम्पनीका स्मार्टफोनमा होमका रूपमा मात्र उपलब्ध भएर यसले सबैलाई नयाँ र आश्चर्यजनक अनुभूति दिलाएको छ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World