समूह विजेता बन्दै थ्रीस्टार प्रेसिडेन्ट कप फुटवलका लागि छनोट

three-star२८ वैशाख,
                    ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लब समूह ए को विजेतमा बन्दै एएफसी प्रेसिडेन्ट कप फुटवलका लागि छनोट भएको छ ।मंगोलियाको इर्चिम एफसीले बंगलादेशको अबहनी लिमिटेडलाई १-० ले पराजित गरेपछि अन्तिम खेल अघि नै अघिल्लो चरण प्रवेश गरेको थ्रीस्टारले चाइनिज ताइपेइको ताइवान पावर कम्पनीसँग २-२ को बराबरी खेल्यो र ५ अंकका साथ समूह विजेता बन्यो । बराबरीसँगै सन् २०११ को विजेता ताइवान पावर कम्पनी छनोट चरणबाटै बाहिरिएको छ भने ४ अंक जोडेको इर्चिम उपविजेताका रुपमा अघिल्लो चरणमा प्रवेश गरेको छ । पछिल्लो ४ संस्करणपछि नेपाली क्लब पहिलो पटक प्रेसिडेन्ट कपको अन्तिम चरणमा पुगेको हो । पुलिसले ५ पटक तथा मनाङ र एनआरटीले एक-एक पटक प्रेसिडेन्ट कप खेलेको छ । पछिल्ला ४ संस्करणमा नेपाली क्लब अघिल्लो चरण पुग्न सकेको थिएन ।
                   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले छैटौं मिनेटमा डोडोजको गोलबाट अग्रता लिएको थियो । प्रकाश बुढाथोकीको पासमा उनले गोलरक्षक अघि बढेको अवस्थामा दुई डिफेण्डरलाई विट गर्दै गोल गरेका हुन् । खेलको १५ औं मिनेटमा प्रकाशले अग्रता दोब्बर पारे । डोडजको प्रहार ताइवान पावरका रक्षकले फर्काएको बेला प्रकाशले लेफ्ट सर्टबाट गोल गरेका हुन् ।लगातार दुई गोल गरेपछि बढी आत्मविश्वास देखिएको थ्रीस्टारले २० औं मिनेटमा गोल खान पुग्यो । हुङ काइ चुनले तीन डिफेण्डरको बीचबाट गोल गरे । त्यसपछि लगातार थ्रीस्टारमाथि धावा बोलेको ताइवान पावरले पहिलो हापको अन्त्यमा बराबरी गोल फर्कायो ।
          दोस्रो हापमा पनि ताइवान पावर कम्पनी थ्रीस्टारमाथि हावी भएपनि गोल गर्न भने सकेन । दुई पटक वान भर्सेज वानमा उसका खेलाडी चुक्दा दुई प्रहार भने बारमा लागेर फर्किएको थियो । थ्रीस्टारले पनि केही मौका गुमाएको थियो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World