फेसबुक बिवाह
फेसबुक एउटा मनोरञ्जनको साधन मात्र नभएर नयाँ जोडि बन्ने र बनाउने माध्यम पनि बन्दै गएको छ!प्रेम बिवाह,मागि बीवाह त सुने देखेकै कुरा हो तर नेपालि समाजमा अब फेसबुक बिवाह पनि हुन थालेको छ!फेसबुक को माध्यम बाट बिवाह बन्धनमा बाँधिएका जोडिहरुको कहानि यस्तो छ,
फेसबुकमा पठाएको सन्देशको तीन महिनासम्म पनि जवाफ नआएपछि २८ वर्षीय कुमार आचार्यले बन्दनालाई ‘ब्लक’ गरे दिनमा २३ वटासम्म म्यासेज पठाउँदा पनि युवतीले बेवास्ता
गरेपछि निराश भएर कुमारले उनलाई ‘ब्लक’ गरेका थिए ।
त्यो अवधिमा बन्दनाले आफ्नो ‘स्टाटस’ अपडेट गरेकी थिइनन् र उनी कुमारप्रति आकर्षित छन् भन्ने संकेत पनि दिइनन् ।तर पनि कुमारले हरेस खाइसकेका थिएनन् । उनले बन्दनालाई नयाँ फ्रेन्ड रिक्वेस्ट पठाए, अनायासै त्यो स्वीकृत भयो, सम्बन्ध पनि बढ्दै गयोे र अन्ततः दुवैले विवाह गरे ।
“मैले उसका सबै म्यासेज पढेकी थिएँ, तर कुनै जवाफ फर्काइन,” २४ वर्षीया बन्दना मुस्काउँदै भन्छिन्, “मैले उसको परीक्षा लिइरहेकी थिए ।”कुमार र बन्दना जस्तै सामाजिक सञ्जालमा चिनापर्चीपछि विवाह गर्नेहरु काठमाडौंमा थुप्रै छन् ।
कुमारकी आमाले कैयौं केटीका प्रस्ताव ल्याए पनि उनले फेसबुकबाटै जीवनसंगिनी छनोट गरे ।त्यसैले सामाजिक सञ्जाल अहिले नेपाली युवाका लागि नयाँ लमी बनेको छ । नेपालमा फेसबुक प्रयोगकर्ता ४० लाख पुगेसँगै यो सञ्जालकै माध्यमबाट अझै धेरै जोडी बन्नेमा शंका छैन ।
फेसबुकमा भौगोलिक दुरीको पनि खासै महत्व हुँदैन, संसारको एउटा कुनाका पुरुष वा महिला अर्को कुनाका पुरुष वा महिलासँग जोडी मिलाइरहेका हुन्छन् ।यद्यपि, अपरिचितका ‘रिक्वेस्ट’ युवतीले सहजै स्वीकार नगर्ने हुँदा यस्तोमा परिवार र आफन्त सहयोगी भइदिन सक्छन् ।
“मेरो काकाको छोराको बन्दनासँग चिनजान थियो, त्यसैले पनि बन्दनासँग गाँसिन मलाई सजिलो भयो,” कुमार भन्छन् । फेसबुकबाट बनेको यो जोडीले परम्परा निर्वाह गर्ने क्रममा विवाहअघि ज्योतिषीको समेत सल्लाह लिए, परिवारको सहयोगमा विवाह गरे ।
कहिल्यै नभेटेकी शान्तिलाई सुरेश गुरुङले ‘भ्यालेन्टाइन डे’मा प्रस्ताव गरे । २४ वर्षे सुरेशलाई भावी श्रीमती शान्तिको साथी बन्नमा उनकी बहिनीले सघाएकी थिइन् फेसबुकमै रमाउने शान्तिलाई पट्याउन सुरेशलाई त्यति अप्ठ्यारो भने भएन । शान्ति सुरेशका सबै म्यासेजको जवाफ दिन्थिन् ।
“उसको प्रोफाइल हेरेपछि लाग्यो– मैले बिहे गर्ने केटी यही हो,” सुरेश भन्छन् । त्यसपछि उनले कहिल्यै नभेटेकी शान्तिलाई फेसबुकमै विवाहको प्रस्ताव गरेका थिए ।
सुरेश र शान्तिले आफ्नो प्रेमविवाह भएको बताए भने कुमार र बन्दनाले आफ्नो विवाह “अरेन्ज्ड” भन्छन्, तर वास्तवमा दुवै विवाह ‘फेसबुक विवाह’ हुन् ।
कुमार र बन्दनालाई भेट्दा एक–अर्काको हात अँठ्याएर मस्किंदै गरेको त्यो जोडी पहिल्यैदेखि गहिरो प्रेममा छ भन्ने प्रस्टै हुन्थ्योे।
सामाजिक सञ्जालमा जोडी बनाउन सजिलो भए पनि फेसबुकले गर्दा कैयौं जोडी छुट्टिनु पनि परेको छ । बन्दनाले अचेल कुमारलाई फेसबुकमा समय बिताउन दिंदैनन् । “उसले अरु केटीसँग कुरा गरेको मलाई मन पर्दैन,” कुटिल मुस्कान छर्दै बन्दनाले भनिन् ।
यता सुरेशले भने आफ्नी पत्नीको फेसबुकमा चियोचर्चो गरिरहेका छन् । “उसको तस्वीरमा कसैले कमेन्ट गर्यो भने त्यसका बारेमा सोधखोज गर्छु,” सुरेशले हाँस्दै सुनाए ।
फेसबुक जस्ता समाजिक सञ्जालमा नक्कली ‘आइडी’ बनाएर अरुलाई सताउने पनि प्रशस्तै हुन्छन् । गत हप्तामात्रै प्रहरीले सिन्धुपाल्चोकका ३० वर्षीय रामकुमार स्याङवोलाई एक महिलाको उजुरीका आधारमा पक्राउ गरेको छ । स्याङबोले अश्लिल सन्देश र तस्वीर पठाउने गरेको साथै यौनसम्बन्धका लागि दबाब दिने गरेको महिलाको आरोप छ ।
प्रविधिको विकाससँगै नेपालको सामाजिक जीवनको एउटा पाटो अवास्तविक (भर्चुअल) संसारमा रमाउन थालेको छ । फेसबुकको खुट्याउन नसकिने वास्तविकता वास्तविक मानिसहरु भन्दा पनि बढी वास्तविक ठानिएको देखिन्छ ।कुमार र बन्दना दुबैले आफ्ना जोडी वास्तविक जीवनमा निकै फरक भएको स्वीकार्छन् ।
“फोटोमा उनी अवोध देखिन्छिन्,” कुमार भन्छन् । “र ऊ फेसबुकमा निकै गम्भीर देखिन्थ्यो,” बन्दनाले भनिन् । फेसबुक एकप्रकारको मुखौटा हो जहाँ मानिसहरु आफ्नो सपनामा बाँच्छन् र आफूले चाहेजस्तो आदर्श रुपमा प्रस्तुत हुन्छन्– वास्तविकता भन्दा बेग्लै ।
तर, यसले टाढा रहेका आफन्तसँग कुराकानी गर्न, छिमेकमै रहेका युवा युवतीबीच चिनजान गराउन पनि सहज बनाइदिएकोे छ।-हिमाल खबर पत्रीका


0 comments
तपाईंको प्रतिकृया