पहिरोमा परि मृत्यु हुनेको सँख्या ३३ पुग्यो




सिन्धुपाल्चोक, श्रावण १९ । सिन्धुपाल्चोकको मांखा गाउँ विकास समितिको जुरेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । आज थप २३ जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३३ पुगेको हो ।

मृतकमध्ये मिठु पाठक खत्री, लाल कुमारी बुढाथोकी, राजीव खत्री, रञ्जिव खत्री, सोममाया श्रेष्ठ, जयां श्रेष्ठ, पुनम श्रेष्ठ, उनकी तीन महिनाकी छोरी,  गणेश श्रेष्ठ, धनमाया श्रेष्ठ, चन्द्रमाया श्रेष्ठ, मिथिला दनुवार, राजु थामी, उनका दुई वर्षीय छोरा, रिजु थामी, सरु थामी, यमबहादुर श्रेष्ठ, श्रेष्ठकी श्रीमती सुशीला, प्रशान्त श्रेष्ठ, राममाया श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सिमरन श्रेष्ठ गरी २२ जनाको मात्र सनाखत भएको छ । अन्यको भने सनाखत हुन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीकाअनुसार ५२ परिवारका अझै १ सय ३० भन्दा बढी सम्पर्कविहीन छन् । यस्तै, फेला परेको केही शवहरु पहिचान गरी आफन्तलाई बुझाइएको छ भने पहिचान भएपनि आफन्त नभएकाहरुको शव गाविसलाई बुझाइएको छ । तत्काल क्रियाखर्च भनेर सरकारले ५० हजार रुपैयाँ पीडितहरुलाइ वितरण गरेको छ ।

यता, नदी खुलाउन अहिले स्काइभेटर र डोजर प्रयोग गरिएको छ । स्काइभेटरले खन्ने क्रममा २३ जनाको शव फेला परेको हो । सुरक्षाकर्मी तथा स्थानीयले बेपत्ताहरुको खोजीलाई तीव्रता दिएका छन् । नदीबाट भने दश प्रतिशत मात्र पानी खुल्न बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

थुनिएको सुनकोशी नदीको बहाव सामान्य अवस्थामा फर्किएपनि पहिरोले खसेको पहाड भने यथावत छ ।

यसैबीच, थुनिएको नदी सामान्य बन्दै गएपनि जुरेमै अर्को ठूलो पहिरोको खतरा रहेको प्राविधिकहरुले जनाएका छन् । पहिरोको शीर राम्चे पुगेर अध्ययन गर्दा त्यस्तो खतरा देखिएको हो । पहाड झन्डै डेढ किलोमिटरभन्दा बढी चिरा परेकाले पहिरो कुनै पनि बेला खस्न सक्ने भन्दै नदीमा जमेको पानी चाँडोभन्दा चाँडो फाल्न उनीहरुले सुझाव दिएका छन् ।

पहिरोले सुनकोशी नदी थुनिएपछि अवरुद्ध बनेका सातओटा जलविद्युत् आयोजना अभै पनि बन्द अवस्थामै रहेका छन् । जसका कारण राष्ट्रिय ग्रीडमा ६७ मेगावाट विद्युत् घटेको छ । नदीले साढे २ मेगावाटको सानीमा हाइड्रोको प्रसारण लाइन नै भत्काएको छ ।
-ईमेज खबर




0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World