बाढीमा फसेका १५० लाई एक्लै बचाए कमलले



बर्दिया : पच्चीस वर्षीया कमल परियारले गुलरिया-२ गुजरानाका बाढीमा फसेका एक सय ५० जनालाई डोरीको सहयोगले उद्धार गरेका छन्। 'बिहान ६ बजे बाढी गाउँमा पस्यो। बाढी आयो भन्दाभन्दै घरबाटै नदी बग्यो।
यसपछि हतारहतार तीन महिना र पाँच वर्षकी छोरीलाई लिएर बाहिर निस्किएँ। आफू निस्कँदा गाउँलेलाई पनि घरबाट निस्क भन्दै कराउँदै हिँडे', कमलले भने, 'दुईवटा बच्चा समातेर आफ्नो शरीरमा डोरीले बाँधे र त्यही डोरीले अरूको उद्धार गरें।' गाउँका महिला, केटाकेटी र वृद्धवृद्धालाई कमलले साहसिक रूपमा बचाएको पीडितले बताए। गुजरानाका अधिकांश युवा कामको लागि भारत गएका छन्।

'एक सय ५० जनालाई डोरीले तानेर उद्धार गरें तर दुईजनालाई भने बचाउन सकिनँ', कमलले भने, 'गुजरानाका एक १६ वर्षीय किशोर र अढाइ महिनाको बच्चालाई भने उद्धार गर्दागर्दै बाढीले बगायो।'

'उहाँ नभएको भए हामी कोही बच्दैन थियौं', पीडित जोसिलाले भनिन्, 'कमलले दिएको डोरी समातेर हामी बाढीबाट निस्किएका हौं। पालैपालो उहाँले हामीलाई बाढीबाट बाहिर निकाल्नुभयो।' स्थानीय तेजबहादुर दानीले बाढीमा डुब्नै लागेको छोरालाई पनि कमलले नै बचाएको बताए। 'म त पत्नी लिएर अस्पताल गएको थिएँ, कमलले छोराहरूलाई बचाएछन्', विस्थापित तेजबहादुरले भने।
-रासस

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World