धाराको पानीबाटै बिजुली


फर्पिङ, भाद्र ८ - मिक्स्चरजस्तै देखिने मेसिन। तर यसबाट जुस होइन, बिजुली निक्लन्छ भन्दा सुरुमा पत्यार नलाग्न सक्छ। राजधानी नजिकैको फर्पिङमा यसैबाट बिजुली निकालियो। तीन इन्चको पाइपबाट धारामा प्रयोग भइसकेको फोहोर पानी ल्याएर मेसिनमा ठोक्किन्छ। मेसिनभित्र रहेको टर्वाइन घुमेपछि त्यसैमा जोडिएको जेनरेटरले बिजुली निकाल्छ। यसैबाट उत्पादित बिजुली काठमाडौंको सेतीदेवी गाविसको फर्पिङ रिजभरवाइर नजिकैको सोखेल टोलमा बालिएको छ।


काठमाडौं सेतिदेवी गाबिसको सार्बजनिक ढुंगेधारा बाट खेर गएको पानिलाई व्यवस्थित गरि बिजुलि निकाल्दै !
सानो पानीको स्रोतबाट पनि बिजुली निकाल्न सकिने यो प्रविधिले लोडसेडिङ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 'हामी निकै खुसी छौं, चौबिसै घन्टा बिजुली बाल्न पाएका छौं,' ५५ वषर्ीय भगवती राउतले भनिन्, 'खेर गइरहेको पानीबाट विद्युत् उत्पादन हुन्छ भन्ने कल्पना पनि गरेका थिएनौं।'
स्थानीयवासी गाविसभरि नै खोला र ढुंगेधारामा खेर गइरहेको पानीबाट विद्युत् निकाल्ने अभियानमा जुटेका छन्। १५ सय वाट क्षमतामा बिजुली बल्न सुरु भएपछि धेरैतिरबाट मानिसहरू हेर्न आउन थालेका छन्।

चीनको युफुङ कन्सर्न ट्रेडिङ प्रालिले यो मेसिन उत्पादन गरेको हो। कम्पनीका प्रोपाइटर लि फुङ स्वले पहाडी भेगमा थोरै पानीबाट घर-घरमा विद्युत् उत्पादन गर्न सकिने बताए। '२ लाख रुपैयाँ खर्चमा विद्युत् उत्पादन गर्न सकिन्छ, दुर्गम गाउँ झलमल पार्न सकिन्छ,' उनले भने। बीस वर्ष आयु रहेको उक्त मेसिनको ग्यारेन्टी पाँच वर्ष राखिएको छ। पाँच वर्षभित्र बिग्रेमा कम्पनीले नयाँ मेसिन जडान गरिदिने कम्पनीले जनाएको छ।

'गाउँ झिलिमिली' अभियान प्रालिका निर्देशक केशव बस्नेतले सेतीदेवीलगायत फर्पिङका घर-घरमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययन भइरहेको बताए। 'ठूलो पानीको स्रोत चाहिँदैन,' उनले भने, 'ढुंगेधारामा पनि विद्युत् उत्पादन गछौर्ं, नमुना परियोजनाले उत्साह थपिएको छ।' ढुंगेधारालगायत पानीका स्रोतबाट कम्तीमा २ इन्चको पाइपबाट यस मेसिनमा पानी पठाएर बिजुली निकाल्न सकिने उनले बताए।

सेतीदेवीवासीले कुलोबाट तीन हजार वाट क्षमताको बिजुली निकाल्ने तयारीसमेत गरेको उनले जानकारी दिए। 'तीन दिनभित्रमा ६ सय चिम बाल्दैछौं,' बस्नेतले भने, 'मुलुकभर अभियान पुर्‍याउँछौं।' विस १९६४ मा चन्द्रशमशेर बेलायत भ्रमणबाट फर्केपछि फर्पिङमा ५ सय किलोवाट क्ष्ामताको विद्युत् उत्पादन गरेका थिए। नेपालको यो नै पहिलो जलविद्युत् परियोजना हो। त्यसपछि विस १९६८ मा उक्त बिजुली नारायणहिटी दरबारमा ल्याइएको थियो। हाल उक्त विद्युत्गृह बन्द छ। फर्पिङ र सेतीदेवीका खोला र ढुंगेधाराको पानीबाट मात्र करिब १५ सय किलो वाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने बस्नेतको भनाइ छ। 

उपत्यका वरिपरिका गाउँमा प्रसस्त पानी भएको उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिले घर-घरमा विद्युत् उत्पादन गर्न सकिने बताए।
-रासस

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World