नेपाली क्रिकेट टिम को तेस्रो जीत
काठमाडौं भाद्र २,क्वालालाम्पुर,
टिमका सबैभन्दा कान्छा सदस्य अनिल खरेलले उत्कृष्ट बलिङ गरेपछि नेपालले एसीसी यू-१६ प्रिमियर लिग क्रिकेटमा आइतबार लगातार तेस्रो जित दर्ता गरेको छ। अनिलले ८ ओभरमा १६ रन खर्चेर ६ विकेट हात पारे। उत्कृष्ट लयमा रहेका जितेन्द्रसिंह ठकुरीले बाँकी चार विकेट लिए।
सिलेङगर क्लब मैदानमा भएको खेलमा नेपालले ओमानलाई १ सय २ रनले हराउँदै राउन्ड रोविन लिगमा आफूलाई शीर्षस्थान कायमै राखेको छ। नेपालको तीन जितबाट ६ अंक छ भने दोस्रो स्थानमा रहेको मलेसियाको ५ अंक छ। लिगको समाप्तिसम्म शीर्षस्थानमा रहने टिमले उपाधि जित्नेछ।
चौथो खेलमा नेपालले सोमबार बहराइनको सामना गर्दैछ। नेपालले बहराइनलाई र सिंगापुरले मलेसियालाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना एउटा म्याचअघि नै लगभग पक्का हुन्छ। अर्को खेलमा ओमान र थाइल्यान्ड भिड्नेछन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा अलआउट हुँदै १ सय ६४ रन बनायो। जवाफमा ओमान २९ ओभर १ बलमा ६२ रनमा अलआउट भयो।
ओमानका बलरसामु नेपाली ब्याट्सम्यानले मध्यमस्तरको स्कोर खडा गरे। अलराउन्डर जितेन्द्रसिंह ठकुरीले मध्यक्रम सम्हाल्दै सर्वाधिक नटआउट ३२ रन बनाए भने रवीन्द्रजंग शाहीले २५ रन बटुले। प्रारम्भिक ब्याट्सम्यान सुशान्त सिंहले १७, प्रनित थापाले १६ तथा कप्तान सुमित महर्जनले १४ रन योगदान गरे। ओमानका इभान जोसेफले सर्वाधिक ३ विकेट लिए।
प्रत्युत्तरमा ओमानी ब्याट्सम्यानले राम्रो सुरुआत गरेका थिए। उसका लागि परितोष हितेश र इभान जोसेफले पहिलो विकेटका रूपमा ४९ रनको साझेदारी गरेका थिए। तर, नेपाली स्पिनरको उत्कृष्ट प्रदर्शनसामु ओमानी ब्याट्सम्यान निरीह देखिए। जितेन्द्रले सत्रौं ओभरको अन्तिम बलमा २७ रन जोडेका इभानलाई आउट गर्दै साझेदारी तोडेपछि ओमानको विकेट झर्ने क्रम सुरु भएको थियो। उसका लागि हितेशले १८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुगेनन्। पहिलो विकेट गुमाउँदा ४९ रन बनाएको ओमानले बाँकी ९ विकेट क्षतिमा १३ रनमात्र थप्यो। ओमानका पछिल्ला सात ब्याट्सम्यानले खाता खोल्न सकेनन्।
जितेन्द्र तीन खेलमा १२ विकेटसहित प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा शीर्षमा छन् भने नौ विकेटसहित दोस्रोमा छन्। 'बहराइनविरुद्ध खेलका लागि हामी सबै तयार छौं। अहिलेसम्मको खेल हेर्दा बहराइन त्यति बलियो देखिंदैन। उसको कमजोरीमाथि हामीले आफूलाई बलियो देखाउने मौका छ। त्यसैले पक्कै पनि हामी जित्छौं,' कप्तान सुमित महर्जनले भने,'ब्याटिङमा हामीले केही सुधार गर्नुपर्नेछ, अरू त सबै राम्रै छ।'
नेपाली टिमका प्रशिक्षक वसन्त शाहीले यसअघिका दुई संस्करणमा उपविजेतामा रहनुपरे पनि यसपटक उपाधि जितेर र्फकने लक्ष्यमा रहेको बताए। 'हाम्रा खेलाडीले पनि राम्रै गरिरहेको अवस्था छ। अहिलेसम्मको खेलबाट हामी बलियो स्थितिमा छौं। हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो,' उनले भने। उनले यसका लागि बहराइनविरुद्ध खेल महत्त्वपूर्ण हुने बताए। 'नेपालका लागि अलि बलियो प्रतिस्पर्धी टोली भनेको सिंगापुर र मलेसिया नै हुन्। सिंगापुरलाई त हराइसकेको हुँदा अब मलेसियासित भिड्न बाँकी छ। त्यसैले बहराइनसितको खेल नै लगभग हाम्रो लक्ष्यमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ,' शाहीले थपे।
-रासस

0 comments
तपाईंको प्रतिकृया