ब्राजिल र अर्जेन्टिनालाई रातो कार्ड
अधिकांश फुटबल समर्थकले विभिन्न सहर र टोलमा ब्राजिल र अर्जेन्टिनाको झन्डा गाड्न थालेपछि सरकार सशंकित बनेको हो। बंगलादेशले विश्वभर क्रिकेट खेल्ने राष्ट्रको छवि बनाएको छ। सरकारले विश्वकप फुटबलका नामममा आफ्नो राष्ट्रियता अवमूल्यन गरी ब्राजिल र अर्जेन्टिनाको हरिया र पहेंला झन्डा फहराएको भन्दै आपत्ति प्रकट गरेको छ।
जेस्सर जिल्लामा विभिन्न राष्ट्रलाई समर्थन गर्दै रंगीबिरंगी झन्डा टाँग्दै भड्किदो प्रचार गरेको विषयमा त्यहाँका सरकारी अधिकारी मुस्ताफिजुर रहमानले दु:ख व्यक्त गरे। 'जेस्सरका दुई करोड सात लाख जनताले ब्राजिल र अर्जेन्टिनाको झन्डा राखेर बंगलादेशको राष्ट्रियतामाथि नै अपमान गरेका छन्। आफूलाई मन पर्ने टोलीको समर्थनमा जर्सी लगाउनु, ब्यानर बोक्नु ठूलो कुरा भएन, तर समर्थनको नाममा आफ्नो घरको छानामै ब्राजिल र अर्जेन्टिनाको झन्डा राख्नु उचित काम होइन', रहमानले भने।
बंगलादेश सरकारले जनताका घरमा फहराइएको विदेशी राष्ट्रको झन्डालाई हटाउन तत्काल आग्रहसमेत गरेको छ। सरकारी अधिकारीले प्रत्येक घरमा निगरानी गर्दै राखिएका झन्डा हटाउन थालेको रहमानले बताए। क्रिकेटको लोकप्रियता रहेको बंगलादेशले जनतामा फुटबलको समेत क्रेज बढाउन सन् २०११ मा अर्जेन्टिना र नाइजेरियाबीच मैत्री फुटबल प्रतियोगितामो आयोजना गरेको थियो।
लियोनेल मेसी सम्मिलित प्रतियोगिता आयोजनाका लागिमात्र बंगलादेश सरकारले त्यतिबेला ४० लाख अमेरिकी डलर खर्च गरेको थियो। कहिल्यै विश्वकपमा छनोट नभएको बंगलादेशलगायत दक्षिण एसियाली मुलुकमा उक्त प्रतियोगिताको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो। त्यसकै कारणले पनि अहिले बंगलादेशी जनतामा ब्राजिल र अर्जेन्टिनाप्रति समर्थनको मोहा जागेको सरकारी अधिकारीले आँकलन गरेका छन्। -एजेन्सी

0 comments
तपाईंको प्रतिकृया