हतियारसहित नेपाल पसेका भारतीय पक्राउ


विराटनगर : हतियार बोकेर नेपाल छिरेका पाँचजना भारतीय नागरिकलाई शनिबार साँझ विराटनगरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ। जाँचका लागि खटिएको प्रहरी टोलीले विराटनगरस्थित रानी सीमा नाकाको २ नम्बर ढाटबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत पूर्णिया बिहारका रञ्जित चौधरी, सञ्जय राय, शान्तिपुर महतो, पटनाका विवेक सिंह र आशीष गुप्ता छन्। पक्राउ गर्नासाथ पाँचैजनालाई अनुसन्धान र कारबाहीप्रक्रिया अघि बढाउनका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको छ।
इलाका प्रहरी कार्यालय रानीमा राखिएका उनीहरूलाई आइतबार हातहतियार खरखजाना एेनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ। पाँचजनामध्ये सञ्जयका साथबाट पेस्तोल फेलापरेको हो। उनका साथबाट इटालीमा बनेको ७ प्वाइन्ट ६५ एमएमको एउटा पेस्तोल र त्यसमा लाग्ने गोली १० थान बरामद भएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा बीआर ११ टी २४६५ नम्बरको माइक्रो भ्यान चढेर आएका उनीहरूका साथबाट पाँच सय रुपैयाँका भारतीय नोट एक लाख र एक हजार दरका नोट ११ वटा बरामद भएको छ। भ्यान पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सञ्जयले आफू भारतको महिन्द्रा डिस्ट्रिब्युटर्स प्रालि पूर्णियाका सञ्चालक रञ्जित चौधरीको अंगरक्षक रहेको र नेपाल घुम्न आएको बयान दिएका छन्। नेपाल घुम्न आउँदा चौधरीको सुरक्षाका लागि हतियार बोकेको उनको भनाइ छ।
प्रहरीले बरामद गरेको हतियार भारतमा लाइसेन्स प्राप्त रहेको बताइएको छ। 'भारतका लागि लाइसेन्स प्राप्त हतियार भए पनि त्यो लिएर नेपाल छिर्न मिल्दैन', एक सुरक्षा अधिकारीले भने, 'हतियार लिएर एक देशबाट अर्को देशमा छिर्नु कूटनीतिक मर्यादाविपरीत हुने भएकाले पक्राउ गरेर कानुनी कारबाही अघि बढाएका हौं।'
पक्राउ परेकाहरूलाई छुटाउनका लागि मोरङ प्रहरीलाई आइतबार दबाब आएको थियो। नेपाली र भारतीय दुवै देशको राजनीतिक वृत्तबाट आएको दबाबलाई बेवास्ता गर्दै प्रहरीले उनीहरूविरुद्ध मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले हतियार लिएर नेपाल आएका भारतीयका विषयमा कानुनी कारबाहीप्रक्रिया अघि बढाइएको बताए।

WATCH NOW NEW VIDEO 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World