कारागारभित्र मर्ने गरी कुटिन्छन् कैदीबन्दी


कालीकोट: सुध्रिने अवसर पाएका कैदीबन्दी कारागारमा गएर पनि स्वतन्त्र रुपमा बस्न पाउने वातावरण नहुँदा कालीकोट कारागारमा रहेका कैदीबन्दीले असुरक्षाको महसुस गर्न थालेका छन् ।
पछिल्लो समयमा जिल्ला कारागार कालीकोट शाखामा कैदीले एकापसमा स–साना कुरामा विवाद गर्नेबित्तिकै कारागार बाहिर लिएर गई शारीरिक यातना दिने क्रम सुरु भएपछि कैदीबन्दीमा सन्त्रास फैलिएको छ ।
कारागार शाखा कालीकोटमा कैदीबन्दीले हिरासतमा पाएको भन्दा ठूलो यातना पाउने गरेको बताइएको छ । एक कैदीले नाम नबताउने सर्तमा दुखेसो पोख्दै भने – कसैले अन्याय गरेमा सहनै पर्ने अवस्था रहेको छ । कसैसँग विवाद गर्दा कारागार प्रशासनको निर्देशनमा कारागार बाहिर लिएर यातना दिने गरिन्छ ।
उनका अनुसार पछिल्लो समय किन झगडा गरेको हो भन्दै कारागार बाहिर लगेर साँझपख शारीरिक र मानसिक यातना दिने गरिएको छ । उनीहरूले आफूहरूलाई बाहिर कसैसँग भन्न नपाइने समेत उर्दी जारी भएको बताएका छन् । कसैलाई भनेको खण्डमा झन् यातना पाइने डरत्रासका कारण कसैले पनि यो विषय बाहिर ल्याउन नमानेको बताइएको छ ।
कैदीले कारागार भनेको सुधारगृह वा यातना गृह के हो भन्ने जवाफ खोजेको बताएका छन् । यो कारागार प्रशासनको निर्देशन हो या प्रहरीको मनोमानी थाहा भएको छैन । अहिलेसम्म कुनै पनि मानव अधिकारवादी तथा पत्रकार आएर कारागारको वास्तविक अवस्थाबारे बुझ्न नचाहेको गुनासो ती कैदीहरूको छ ।
कारागारको कुल क्षमता २५ जनाको भएपनि हाल चार महिला चार र ४८ पुरुष गरी ५२ कैदीबन्दी रहेको कारागार शाखा कालीकोटका प्रमुख (जेलर) सञ्जय महतोले बताएका छन् । उनका अनुसार कारागारभित्र यातना दिने काम हुन्छ त भन्ने प्रश्नमा उनले कैदीकैदीबीचमा विवाद हुँदा एकापसमा समाधान गर्ने गरेको तर अहिलेसम्म कसैलाई यातना भने नदिएको दाबी गरेका छन् । -रासस

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World