ज्ञानेन्द्र राष्ट्रपति बन्ने : प्रचण्ड
२६ वैशाख,
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी
खोलेर चुनाव लड्न आउँछन् भने पूर्वराजा ज्ञानेन्द्रले पनि लोकतन्त्रमा
निर्वाचन लड्न पाउने बताउनुभएको छ । पूर्वराजाले चुनाव जिते भने राष्ट्रपति
पनि बन्न सक्ने प्रचण्डको तर्क छ । ‘पार्टी खोलेर चुनाव लड्न आउँछन् भने
ज्ञानेन्द्र पनि आए हुन्छ । उनले पनि प्रतिस्पर्धा गरे हुन्छ, त्यसलाई
हामीले सहजरुपमा लिनुपर्छ ।’ आफ्नै निवास लाजिम्पाटमा बिहीबार साँझ
अनलाइनखबरसँग कुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’चुनाव जितेर
आए भने भोलि उनी राष्ट्रपति हुन पनि पाउँछन् । यदि साँचो लोकतन्त्र हो भने
हामीले त्यहाँसम्म पनि उदार हुनुपर्छ ।’
जतिबेला संविधानसभाको पहिलो बैठकबाट
गणतन्त्रको घोषणा भयो, त्यसलगत्तै पार्टीहरुको बैठक बसेको र त्यसमा
ज्ञानेन्द्रप्रति कस्तो व्यवहार गर्ने भन्नेबारे छलफल भएको प्रचण्डले
बताउनुभयो । ‘ज्ञानेन्द्रले निरंकुश शासन पनि लगाएका हुन् । थुप्रै मान्छे
मार्नेमा पनि उनको प्रत्यक्ष भूमिका छ । उनी सामन्तवादी पनि हुन्,
निरंकुशतावादी पनि हुन् । कतिपय अवस्थामा त उनलाई ठूलो कारवाही गरे पनि
हुने हो नि । सबभन्दा बढी कारवाही गर्नुपर्ने मान्छे त उनै हुन् ।’
प्रचण्डले भन्नुभयो- ‘तर, हामी पार्टीहरुले समझदारी बनायौं र राज्यका
तर्फबाट उनलाई सुरक्षा पनि दिऔं र सम्मानित ढंगले राखौं भन्यौं ।
‘गणतन्त्र र परिवर्तनलाई स्वीकार्छन् भने
ज्ञानेन्द्रलाई लखेटिराख्न जरुरी छैन । हामीले योचाहिँ मानवीय दृष्टिकोणले
पनि राम्रो हुँदैन भन्यौं ।’-प्रचण्डले भन्नुभयो- ‘उनले मेरी आमालाई यहीँ
नारायणहिटीभित्रै राखियोस् भने, हामीले ल ठिकै छ आमालाई त्यहीँ राख्न दिऔं
भन्यौं । उनी नागार्जुनमा गएर बस्छु भने, हामीले हुन्छ भन्यौं ।
ज्ञानेन्द्रलाई दिएको यो सुविधा कांग्रेस एमालेले पनि स्वीकारेकै छन् ।
ज्ञानेन्द्र त लोकमान भन्दा हजारौं गुणा ठूला हुन्, उनको लोकमानसँग तुलनै
हुन सक्दैन ।
पानी बाराबार राम्रो होइन
एमाओवादी अध्यक्ष प्रचण्डले निगतमा कोही
राजावादी भयो भन्दैमा पानी बाराबार गरेर राष्ट्रिय एकता नहुने बताउनुभयो ।
‘हिजो कोही राजावादी भए होलान्, कोही कांग्रेसवादी भए होलान्, अरु विभिन्न
वादी भए होलान्, अहिले हामीले हिजोको आग्रह र पूर्वाग्रहको कोणबाट हैन,
सैद्धान्तिक प्रतिवद्धता र व्यवहारिक संकल्पका आधारमा मानिसहरुको मुल्यांकन
गर्नुपर्छ ।’ उहाँले भन्नुभयो- ‘सबैलाई समेटेर अहिलेको नयाँ गणतन्त्रमा
राष्ट्रिय शक्ति निर्माण गर्नेतिर लाग्नुपर्छ ।’
प्रचण्डको थप भनाइ छ-’एकापसमा पानी
बाराबारको संस्कृति विल्कुलै राम्रो होइन । त्यसरी सोच्यो भने हामी नयाँ
राष्ट्रिय एकता बनाउन सक्दैनौं । जनताको ताकतलाई राष्ट्र निर्माणमा
एकतावद्ध गर्न पनि सक्दैनौं ।’ ‘पञ्चायतकालमा राजालाई समर्थन गर्नेहरु त
कति थिए, थिए, मेरै काका र नातेदारहरु कति थिए थिए, तिनीहरुले अहिले आएर
गणतन्त्रलाई स्वीकारेका छन्, उनीहरुमाथि पूर्वाग्रह राखिराख्नु जरुरी छैन
।’ उहाँले अनलाइनखबरसँग भन्नुभयो ।
0 comments
तपाईंको प्रतिकृया