रियालको जितले बार्सिलोना प्रतिक्षामा

रियालको जितले बार्सिलोना प्रतिक्षामाबैशाख २६ ,
रियाल मड्रिडले बुधबार सान्टियागो बेर्नाबेउमा मालागामाथि ६–२ को विजय हासिल गर्दै बार्सिलोनाको स्पेनिस ला लिगा जित्ने अभियानलाई थप केही दिन पर सारेको छ। ९ जनामा सीमित भएर खेलको अन्त्य गरेको मालागामाथि विजय हासिल गरेपछि रियालले बार्सिलोनाको उपाधि जित्ने सम्भावनामा गणितीय बाधा कायम राख्यो। सर्जियो रामोस चोटग्रस्त भएपनि जोजे माउरिन्होको रियाल टोलीमा पोर्चुगाली अन्तर्राष्ट्रिय खेलाडी पेपे थिएनन्। प्रशिक्षकले कप्तान गोलकिपर इकर कासियासमाथि सम्मान गर्नुपर्ने प्रष्ट विचार राखेका कारण पेपेले बुधबार बेन्चमा पनि स्थान पाएका थिएनन्। जसले राउल एल्बियोललाई पहिलो रोजाईबाट खेल्ने मौका दिएको थियो।

'पेपेलाई नखेलाउने निर्णय प्रशिक्षकको थियो,' एल्बियोलले भने, 'हामी जित्न चाहन्थ्यौं। त्यसका लागि मैदानमा संगठित भएर मेहनत गर्‍यौं र त्यहीअनुरुप नतिजा निस्कियो। विपक्षीका दुई खेलाडीले रातो कार्ड पाउनुले हामीलाई फाइदा भयो जस्तो लाग्छ। मुख्य कुरा हामीले तीन अंक हासिल गरेका छौं।' रियालमा चौथो वर्ष विताइरहेका एल्बियोलले नै टोलीलाई तेस्रो मिनेटमा अग्रता दिलाए। लुका मोडरिकको कर्नरलाई उनले गोलमा परिणत गरेका थिए। तर, त्यो अग्रता १३ मिनेटभन्दा बढि टिक्न सकेन। मालागाका लागि रक सान्ता क्रुजले गोल गर्दै १६ औं मिनेटमा खेल बराबरीमा ल्याए।

२१ औं मिनेटमासर्जियो सान्चेजले रातो कार्ड सामना गरेपछि मालागा १० जनामा सीमित भयो। क्रिस्टियानो रोनाल्डोले त्यसको पाँच मिनेटपछि गोल गरेर रियाललाई २–१ को अग्रता दिलाए। ३४ औं मिनेटमा मेसुट ओजिलले गोल गरेपछि रियालको अग्रता थप फराकिलो भयो। त्यसको दुई मिनेट नवित्दै मालागाका लागि भिटोरिनो आटर््युनले गोल गरेर पुनरागमनको संकेत गरे। समय सकिन १७ मिनेट बाँकी रहँदा मालागाका मार्टिन डेमिचेलिसले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेर टोलीलाई ९ जनामा सीमित पारेको खेलमा रियालका लागि थप गोल करिम बेन्जामा, लुका मोडरिक र एन्जेल डी मारियाले गरे।

बुधबारै स्पेनिस ला लिगामा सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोमाथि ३–१ को जित दर्ता गराउँदै आगामी सिजन च्याम्पियन्स लिग स्थान पक्का गरेको छ। एट्लेटिकोको जितमा डिएगो कोस्टा, जुवाफ्रान र राडामेल फाल्काओले गोल गरेका थिए। हारपछि सेल्टा रेलिगेसन क्षेत्रमै थन्किएको छ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World