भारत संग प्रचण्डले यस्तो भने
वैशाख १६ -
दक्षिणी छिमेकी भारतसँग 'विश्वासको नयाँ आधार' बनाउने उद्घोष गरेका एकीकृत
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले यहाँ उच्चस्तरीय भेटवार्ता थाल्दै
गर्दा आफू र आफ्नो पार्टीलाई अब शंकाको दृष्टिले नहेर्न भारतीय पक्षलाई
आश्वस्त पार्ने कोसिस गरेका छन् ।चारदिने भ्रमणका लागि नयाँदिल्ली उत्रिएको दिनबाटै महत्त्वपूर्ण भेट
थालेका उनले एमाओवादी परिवर्तन भइसकेको र लोकतन्त्रप्रतिको उसको
प्रतिबद्धतामा आशंका नगर्न आग्रह गरे ।'लोकतन्त्र सशक्त पार्न मेरो पार्टी एकीकृत माओवादी र म स्वयं पनि
लागिपरेका छौं,' प्रमुख विपक्षी दल भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ
सिंहसँग दाहालले राखेको धारणा सुनाउँदै उक्त दलका विदेश मामिला संयोजक विजय
जोलीले कान्तिपुरसँग भने ।
नेपाल मामिलाबारे निकै चासो राख्ने सिंहसँग करिब पौने घन्टा लामो भेटमा
दाहालले पछिल्लो पटक एमाओवादीले महाधिवेशनबाट लिएको नयाँ नीतिलगायत
विषयबारे पनि बताएका थिए । 'भारतसहितको अन्तर्राष्ट्रिय समुदाय र अरू घरेलु
शक्तिलाई पनि आश्वस्त पार्ने खालका निर्णय हामीले पछिल्लो महाधिवेशनबाट
गरेका छौं । लोकतन्त्रलाई मजबुत बनाउन तथा भारतसँग सुमधुर सम्बन्ध कायम
राख्न हामी प्रतिबद्ध छौं,' भेटमा सहभागी जोलीले दाहाललाई उद्धृत गर्दै भने
।नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यतर्फ इंगित गर्दै दाहालले पार्टीभित्र
रहेको उग्रपन्थी र भारतविरोधी धार अलग भइसकेको चर्चा पनि भेटका क्रममा
गरेका थिए । उनले शान्ति प्रक्रिया पूर्ण हुन लागेको र नेपाली समाजमा
माओवादी पूर्वलडाकु घुलमिल भइसकेको विषय पनि राखेका थिए । उनले नेपाल अहिले
चुनावको तयारीमा रहेको उल्लेख गर्दै त्यसमा भारतीय सद्भाव र सहयोगका लागि
आग्रह गरे ।
जवाफमा सिंहले भारत सदैव 'लोकतान्त्रिक, सुरक्षित र शान्त' नेपालको पक्षमा
रहेको बताउँदै जुनसुकै नेपाली दल सरकारमा आए पनि भारतीय समर्थन रहिरहने
धारणा राखे । सिंहले नेपालमा भारतविरोधी प्रोपागान्डा भएको भन्दै चिन्ता
व्यक्त गरेको जोलीले जानकारी दिए । दाहालले जवाफमा भारतीय चासोहरूलाई
सम्बोधन गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।
भाजपाका नेतासँगको उक्त भेटका क्रममा नेपालमा धर्म परिवर्तनले तीव्रता
पाएको र खासगरी गरिब हिन्दु परिवारलाई लक्षित गरिएको भन्दै जोलीले चासो
राखेका थिए । भाजपा अध्यक्ष सिंह नेपाललाई हिन्दु राष्ट्रको पुरानै
पहिचानमा फर्काउनुपर्छ भन्ने धारणाका पक्षधर नेताका रूपमा परिचित छन्् ।
उनले यसअघि सार्वजनिक रूपमै पटक-पटक त्यसको पक्षमा धारणा राखेका पनि छन् । शनिबारै भारतीय विदेशसचिव रञ्जन मठाईले पनि दाहालसँग भेटी नेपालमा जारी
राजनीतिक प्रक्रियामा भारतको साथ रहनेलगायत विषयमाथि छलफल गरेका थिए ।
दाहाल र सिंहबीचको सम्बन्धका केही संयोग पनि छन् । सन् २००८ मा
प्रधानमन्त्रीका रूपमा दाहाल भारत भ्रमणमा आउँदा त्यतिखेर पनि सिंह भाजपाका
अध्यक्ष थिए र उनीसँग त्यसबेला पनि भेट भएको थियो । अहिले संयोग त्यस्तै
परेको छ । प्रधानमन्त्रीका रूपमा नभए पनि पाँच वर्षपछि दाहाल यहाँ आउँदा
सिंह भाजपाका नवनिर्वाचित अध्यक्ष छन् । भेटमा यस्तै पुराना प्रसंग
उप्काउँदै गर्दा पूर्वभारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीको चर्चा पनि
भएको थियो ।१२ बुँदे समझदारीको पहल बाजपेयी प्रधानमन्त्रीत्वको सरकार हुँदादेखि नै
सुरु भएको चर्चा उक्त भेटमा जोलीले उठाएका थिए । २००४ को आमचुनावमा पराजित
भएपछि भाजपा सरकारबाट बाहिरिएको थियो । त्यसको एक वर्षपछि २००५ मा १२ बुँदे
समझदारी भयो । केही महिनाअघि सार्वजनिक एक पुस्तकमा भारतीय प्राध्यापक
एसडी मुनिले बाजपेयी सरकारलाई दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले नेपालमा
भारतीय चासोहरूमाथि खलल नपुर्याउने प्रतिबद्धतासहितको पत्र लेखेको प्रसंग
पनि सार्वजनिक गरेका थिए ।
दाहाल सहभागी हुने भोज अन्य दलद्वारा बहिष्कार
आइतबार यहाँस्थित नेपाली दूतावासले दाहालको सम्मानमा आयोजना गरेको
रात्रिभोज एकीकृत माओवादीबाहेक केही दलले बहिष्कार गरेका छन् । नेपाली
कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति भारत, एमालेनिकट प्रवासी नेपाली संघ
भारतलगायत संगठनले अन्य पूर्वप्रधानमन्त्रीहरू आउँदा त्यस्तो कार्यक्रम
नराख्ने प्रचलन विपरीत यस पटक भोज आयोजना गरेको भन्दै बहिष्कार गर्ने
निर्णय गरेका हुन् ।
0 comments
तपाईंको प्रतिकृया