अब चुरोटको ठुटा बाट मोबाइल र कम्प्युटर चल्ने



दक्षिण कोरियाली वैज्ञानिकहरुले मानिसले तानेर फ्याँकेका चुरोटका ठुट्टालाई उच्च क्षमतायुक्त पदार्थमा बदलेका छन् जसलाई कम्प्युटर, हाते ग्याजेट, विद्युतिय गाडी तथा वायु टर्वाइनमा उर्जा संचयका लागि प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकहरुले यो पदार्थको उच्च क्षमता भएको तथ्यलाई प्रायोगिक रुपमै प्रमाणित गर्दै चुरोटका फ्याँकिएका ठुटाबाट बनाइने यो पदार्थ विद्युतिय संसाधनमा उर्जा संचयका लागि प्रयोग गरिँदै आएको कार्वन, ग्राफिन तथा कार्वन नानोट्युब भन्दा बढि क्षमतायुक्त भएको दाबी गरेका छन् ।

यो पदार्थलाई सुपर क्यापासिटरको इलेक्ट्रोडमा लेपन गर्नमा प्रयोग गर्न सकिने सम्भावना छ । सुपर क्यापासिटर यस्तो विद्युत रसायिनक वस्तु हो जसले निकै ठूलो परिमाणमा विद्युत उर्जा संचय गर्न सक्छ । चुरोटका ठुटालाई यस्तो महत्वपूर्ण काममा प्रयोग गर्न सकिने भएपनि अब चुरोटका फ्याँकिएका ठुटा तथा फिल्टरका कारण हुने वातावरणीय समस्याको समेत समाधान हुने आशा पलाएको छ ।

एक तथ्यांक अनुसार विश्वमा ७ लाख ६६ हजार ५ सय ७१ मेटि्रक टन अर्थत् ५.६ टि्रलियन चुरोटका ठुट्टा वर्षेनी फ्याँकिने गरेका छन् ।वैज्ञानिकहरुले चुरोटका ठुटामा रहने फिल्टरमा हुने सेलुलोज एसिटेट फाइबरलाई कार्वनमा आधारित पदार्थमा परिणत गर्न सकिने तथ्यलाई पुष्टि गरेका छन् । ठुटालाई पाइरोलाइसिस नामक सामान्य प्रकारको जलन प्रक्रियाबाटै यस्तो रुपमा बदल्न सकिन्छ ।

यसरी जलाइसकेपछि चुरोटको ठुटा कार्वन पदार्थमा बदलिन्छ जसमा स-साना छिद्र हुन्छन् जसले ठूलो परिमाणमा विद्युतिय उर्जा संचय गर्न सक्ने सुपर क्यापासिटिभ पदार्थको काम गर्न सक्छ ।शोधकर्ता प्राध्यापक जोंघेओप यी ले पछिल्लो अनुसन्धानले उर्जाको बढ्दो माग पूर्ति गर्ने हरित समाधान प्रस्तुत गरेको दाबी गरे । चुरोटमा प्रयोग गर्ने फिल्टर विषाक्त तथा नसड्ने खालको हुने भएकाले यसले विभिन्न खाले वातावरणीय तथा स्वास्थ्य सम्बन्धि जोखिम ल्याउने विज्ञहरुको भनाइ छ । त्यसैले विश्वका धेरै देशले चुरोटका ठुटा फाल्नमा कडाइ गर्दै आएका छन् ।
-रासस

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World