दिमाग तेजिलो पार्न मधेसी बदाम खानै पर्ने

            मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यसका छिप्पिएका पातहरू साधारणया फुस्रा अथवा खरानी रंगका हुन्छन् । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ ।
मधेसी बदामको गुण
बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ ।
यसको प्रयोग
गर्भवती अवस्थामा पोषणका रूपमाः– मधेसी बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।
दिमागका लागिः– दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।
शरीरको शीतलताको लागिः– पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।
हेमोग्लोबिनको स्रोतः–  बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World