रातो मत्स्येन्द्रनाथको रथ तान्ने आज
रातो मत्स्येन्द्रनाथको रथ सोमबारदेखि तान्न सुरु हुँदैछ । रथलाई
बाजागाजासाथ पुल्चोकबाट गाःबहालमा पुर्याइनेछ । त्यसै अवसरमा
मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर
गाःबहाल पुर्याइनेछ । मीननाथको रथलाई अघिअघि लगाएर मत्स्येन्द्रनाथको
रथलाई पछि तान्ने चलन छ ।जात्रामा बाधा नपरोस् भनेर होम र गाई दान पनि गर्ने चलन छ । गत शुक्रबार
मत्स्येन्द्रनाथको रथारोहण गरिएको थियो । अक्षय तृतीयामा गाई दान गर्ने र
त्यसको भोलिपल्ट रथ तान्ने चलन छ । गुठी संस्थान ललितपुर शाखा कार्यालय
प्रमुख हरिप्रसाद सुवेदीले रथमा बस्ने 'सेसे बाजे' राजोपाध्याय ब्राह्मणलाई
बिहान दान दिने र साँझ रथ तान्ने बताए ।
रथजात्रामा पाटनका तत्कालीन सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लका
ऐतिहासिक खड्गलाई मत्स्येन्द्रनाथको रथमा राखिनेछ । ललितपुरकी जीवित देवी
कुमारीलाई पनि हख बहालको मूलढोकामा राखिनेछ । जात्रामा बाजागाजा र
सार्दूलजंगको पल्टन सम्मिलित हुने छ ।रथ गाःबहाल पुगेकै रातमा 'छोय्ला भू' भनी भोजको आयोजना गर्ने र समय् बजी
बाँड्ने परम्परा छ । मंगलबार बिहान भक्तजनहरूले मत्स्येन्द्रनाथको
पूजाअर्चना गरी काँसको थालमा चामल चढाउने चलन छ । गाःबहाल जात्रापछि मीननाथको रथ अगाडि र मत्स्येन्द्रनाथको रथ पछिपछि
तान्दै महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल
पुर्याइन्छ ।
पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा
भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा
समापन हुन्छ । यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ ।१२ वर्षसम्म पानी नपरी अनिकाल परेपछि पानी पार्न भक्तपुरका तत्कालीन राजा
नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने
ललितपुरका ज्यापू भई भारत, असमको कामरुपकामाक्षबाट मत्स्येन्द्रनाथलाई
ल्याइएको भन्ने कथन छ ।तर नेपालको सर्वप्राचीन गोपालराज वंशावलीमा भने मच्छिन्द्रनाथलाई
कामरूपबाट ल्याइएको भन्ने केही कुरा उल्लेख नगरी खाली राजा नरेन्द्रदेव र
आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख छ ।
मत्स्येन्द्रनाथको जात्रा नरेन्द्रदेव (सन् ६३४-६७१) ले चलाएको विश्वास
गरिन्छ ।
0 comments
तपाईंको प्रतिकृया