तेक्वान्दोबाट सन्यास लिने तयारीमा दीपक
कीर्तिमानधारी
तेक्वान्दो खेलाडी दीपक विष्ट सन्यास लिने तयारीमा छन् । चोटका कारण झण्डै ४
वर्षदेखि रिङमा उत्रन नसकेका विष्ट सन्याससँगै व्यवसायी बन्ने तयारीमा छन्
। ‘मेरा दुबै घुँडामा स्लाइड राखिएको छ, जसका कारण मैले खेल्न सकिरहेको
छैन’-अनलाइनखबरसँग कुरा गर्दै विष्टले भने-’अब छिट्टै औपचारिकरुपमा
सन्यासको घोषणा गर्ने तयारीमा छु ।’ सन्यासबारे तेक्वान्दो संघसँग कुरा
भइरहेको र ढीलोमा यो वर्षभित्र सन्यास लिइसक्ने उनले बताए । विष्ट सन् २००८
को सागपछि लगातार ४ पटक स्वर्ण जित्ने दक्षिण एशियाका कीर्तिमानी खेलाडी
हुन् र हाल राष्ट्रिय प्रशिक्षकको रुपमा कार्यरत छन् । यद्यपि अहिले पनि
खेल हेर्दा रिङमा उत्रन मन लाग्ने उनले सुनाए । ‘खेल्न नपाउँदा साह्रै दुःख
लाग्छ’ उनले भने-’कहिलेकाँही त रिङमा उत्रौंजस्तो लाग्छ तर, चोटका कारण
सक्दिँन ।’
हाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी
संघका अध्यक्षसमेत रहेका विष्टले साफ गेममा ४ पटक स्वर्ण र एशियन गेममा २
पटक रजत जितेका छन् ।
खेल क्षेत्रमा लागेर जीविकोपार्जन गर्ने
अवस्था नभएकाले नै व्यवसाय गर्न लागेको उनले बताए । ‘मैले २० वर्ष देशका
लागि खेले, नाम त कमाए तर, जीवन चलाउने पुग्ने अवस्था छैन’ उनले
भने-’सँगैका साथीहरु विदेश गए । तर, म देशमै बसेर केही गर्न चाहन्छु । खेल
क्षेत्रसँगै जोडिने गरी व्यवसाय सुरु गर्दैछु ।’ विष्टले करिव ६० लाखको
लगानीमा बानेश्वरमा स्पोटर्स कलेक्सन सेन्टर खोल्दैछन् । यसका लागि
व्यवसायी आत्मराम श्रेष्ठलगायतले उनलाई साथ दिँदैछन् । नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोमा
रहेको शोम्भेश्वर कम्प्लेक्स विष्टले स्पोटर्स युनिभर्स नामको कलेक्सन
सेन्टर खोल्ने तयारी गरेका छन् । ‘झण्डै ६० लाखको लगानीमा पसल खोल्दैछौं’
उनले भने-’नेपालमा खेलिने सबै खेलका सामाग्रीहरु राख्छौं ।’ खेल सामाग्रीमा
गाउँदेखि शहरसम्मका सबैको पहुँच पुर्याउने लक्ष्य रहेको उनले सुनाए ।
‘राम्रो र सुपथ मूल्यमा खेलाडीलाई आवश्यक सबै सामाग्री राख्छौं’ विष्टले
भने-’चीन, भारत, थाइल्याण्ड लगायतका देशबाट गुणस्तरीय राख्छौं ।’ खेल
सामाग्रीबारे अध्ययन गर्न केही समय अघि चीन गएको उनी अन्य देश पनि जाने
तयारीमा छन् । खेल सामाग्री निर्यातका लागि विभिन्न खेल संघहरुसँग पनि उनको
कुराकानी भइरहेको छ ।
0 comments
तपाईंको प्रतिकृया