कति खर्च गर्छ मेकअपका सामानमा युवावर्ग



     'साधारणतया दैनिक जीवनमा खरिद गर्नुपर्ने अत्यावश्यक सामान प्रशस्तै हुन्छन्, तर यति नै भन्ने नभए पनि एक महिनामा ५ हजारसम्म  खर्च हुन्छ, ' २३ वर्षीय राजु लिम्बू भन्छन्। पेसाले युवा उद्यमी राजु त्यसै पनि धरान जस्तो ठाउँमा ट्रेन्डी हुन यति खर्च पर्याप्त नहुने बताउँछन्। विशेषगरी फेसवास, सेविङ क्रिम, आफ्टर सेवि, बडी स्प्रे, स्याम्पु तथा हेयर ओइल खरिद गर्ने लिम्बू प्रत्येक दिन विभिन्न व्यक्तिहरूसँग  डिल गर्नुपर्ने भएकाले अपटुडेट रहन कस्मेटिक सामान लक्जरी नभएर आफ्नो आवश्यकता भएको प्रस्ट्याउँछन्। 
स्वयम्को ग्रुमिङका निम्ति सहरी क्षेत्रका साथै गाउँले परिवेशमा पनि मेकअपका निम्ति कस्मेटिक्स खरिद गर्ने प्रच्ालन बढ्दो छ। दिनहुँजसो  खुलिरहेका नयाँ-नयाँ बहुराष्ट्रिय ब्युटी/ह्यान्डसम प्रोडक्ट सपहरूले यही जनाउँछन् कि नेपालीहरू पनि अरूभन्दा कम देखिन चाहँदैनन्।  तथापि पहिले-पहिले कस्मेटिक्स महिलाको मात्र पेवा मानिन्थ्यो भने हाल महिला र पुरुष दुवैले व्यक्तिगत आवश्यकता मानेर कस्मेटिक्स खरिद  गर्छन्। व्यक्तिगत स्वास्थ्य तथा सरसफाइको हिसाबले पनि कस्मेटिकको प्रयोग लाभकारी हुन्छ। व्यक्ति जस्तोसुकै होस्, उपयुक्त कस्मेटिकको  छनौटले व्यक्तित्वमा कायापलट गर्न सक्छ। फाइदाका हिसाबले कस्मेटिकमा खर्च गर्नु उचित मानेर होला, युवाहरू आफुलाई सुट गर्ने स्किन  प्रोडक्ट खरिद गर्छन्। पेशाले ब्युटिसियन भक्तपुर कौशलटारकी २१ वर्षीय सुशीला लिम्बू कस्मेटिकको ब्रान्डका बारेमा विस्तृत बुझेर मात्र  खरिद गर्ने गरेको बताउँछिन्। प्रायशः न्युरोड तथा असनमा खरिददारी गर्छिन् सुशिला। अवसरका हिसाबले कुनै महिना बढी त कुनै महिना  कम खर्च हुने सुशीला बताउँछिन्। 
त्यसैगरी हेयर कटिङ, सेविङ क्रिम, स्प्रे तथा श्याम्पु आदि गरेर कम्तीमा महिनामा २ हजार रुपैयाँ खर्च हुने बताउँछन् काठमाडौं मध्यबाने श्वरका ३१ वर्षीय सन्तोष थापा। नेचुरल स्किन राम्रो भएको तथा फेसमा केही कस्मेटिक प्रयोग गर्न नरुचाउने थापा हेयर टि्रटमेन्ट, प्रोडक्ट  चाहिँ खरिद गर्छन्। साथीभाइ तथा बदलिँदो सहरी जीवनमा एडजस्ट हुन पनि महिलाले मात्र नभै पुरुषले पनि उत्तिकै कस्मेटिक प्रयोग गरी  फिट तथा गुडलुक्स देखिनु आवश्यक मान्छन् सन्तोष थापा। 
व्यक्तिको पहिलो प्रभाव बाहिरी आवरणबाट गरिने भएकैले होला, कस्मेटिक्समा खर्च गर्न कन्जुस्याइँ नगर्ने धेरै छन्। त्यस्तै उपभोक्ताको भिडमा  छन्- भर्खरै एसएलसी दिएका १७ वर्षीय किशोर आइतहाङ लिम्बू। फेसवास, क्लिन्जिङ, श्याम्पु, बडी स्प्रे, मोइश्चराइजर आदि गरेर एक  महिनाको कम्तीमा १ हजार सम्म खर्च गर्छन् १७ वर्षीय लिम्बू। फेस ओइली भएकाले फेसवास आफ्ना लागि अति आवश्यक वस्तु मान्छन्  उनी। पकेट मनीका निम्ती स्कूल छुट्टीको समय सेल्स एन्ड मार्केटिङमा हिँड्ने आइतहाङ कस्मेटिक्सको खर्चलाई अनावश्यक मान्दैनन्।
आवश्यकता, रहर तथा संग्रह गर्ने नेचर आदिनै सौन्दर्य प्रसाधन खरिद गर्ने प्रमुख कारण हुन्। खरिद गर्ने भन्दैमा जे पायो, त्यही खरिद गरी  प्रयोेग गर्नाले छालालाई दीर्घकालीन असर पुर्‍याउन सक्छ। त्यसैले गुणस्तरीय प्रसाधन छनौट गर्नुपर्छ। तथापि खर्चमा लोभ नगरी अन्तर्राष्ट्रिय  ब्रान्डका शोरुममा खरिद गर्नाले जोखिमबाट बच्न सकिन्छ। पेशाले शिक्षिका २२ वर्षीया शारदा श्रेष्ठ सधैं ब्रान्डेड कस्मेटिक खरिद गर्छिन्। महिनामा ५ हजारको भन्दा बढी कस्मेटिक खरिद गर्ने शारदा  सस्तो प्रसाधन लिएर रिस्क लिन चाहँदिनन्। ओरीफ्लेम तथा गार्नियर बढी प्रयोग गर्ने शारदा मेकअपका प्रसाधनलाई आजको आवश्यकता तथा  फेसन दुवै मान्छिन्। समयअनुसार चल्न सकिएन भने पछाडि परिन्छ। बढ्दो ग्ल्यामरस संसार, सूचना तथा वस्तुमाथि सहँज पहुच तथा बहुराष्ट्रिय सौन्दर्य  प्रसाधनको बढ्दो दबदबाबाट कोही अछुतो रहन सक्दैनन्। पर्सनल गु्रमिङ तथा गुड लुकिङका निम्ति मेकअपका यी सामान सहयोगी हातहरू  हुन्।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World